शान्ता चौधरीलाई मार्ने योजना यसरी बनेछ, कमलरीदेखि सभासदसम्मको नालिबेली हेर्नुहोस !!!!

11:42 Posted by npnews

३ साउन, काठमाडौं । पूर्व सभासद शान्ता चौधरी पहिले कमलरी समेत हुनुहुन्थ्यो । सामाजिक कुप्रथाले उहाँलाई पनि जमिनदारको घरमा बसेर काम गर्नुपर्ने बाध्यता आइलाग्यो । अरु पूर्व कमलरीले जस्तै उहाँले पनि थुप्रै हण्डर र ठक्कर खेप्नुभएको छ । निकै संघर्षपूर्ण जीवन गुजारेकी चौधरी २०६४ सालपछि गठन भएको संविधानसभामा एमालेको तर्फबाट सभासद समेत बन्नुभयो । सभासद भएको बेला उहाँले कमलरी लगायत पछाडि पारिएका वर्ग र समुदायको हितमा आवाज उठाउनुभएको थियो ।

आफ्नो जीवनमा आएको उथलपुथल, संघर्ष र सफलतालाई समेटेर पूर्व सभासद चौधरीले बुधबार पुस्तक सार्वजनिक गर्नुभएको छ । ‘कमलरीदेखि सभासदसम्म’ नामक पुस्तकमा उल्लेखित उहाँको जीवनीले समग्र कमलरीको व्यथा र अवस्था थाहा पाउन सकिन्छ । कसरी बन्यो मार्ने योजना ? कमलरी जीवनबाट मुक्ति पाएर सामाजिक अभियानमा लाग्दा शान्ता चौधरीलाई मार्ने योजनासमेत बनेको रहेछ । जुन कुरालाई उहाँले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ : २०६३ सालमा कमलरी जीवनबाट मुक्ति पाएँ । मुक्तिपछि जीवनमा धेरै गर्नुपर्छ भन्ने सोच्थें । दुनियाँले जे भने पनि, जस्तो नजरले हेरे पनि केही गरेर देखाउने अठोट मनमा थियो । जमिनदारको घरबाट काम छाडेपछि गुजाराका लागि जे भए पनि काम गर्नुपर्ने बाध्यता आइलाग्यो । गाउँका केही घरबाट सुङ्गुर र बाख्रा मागेर अधियामा पाल्न सुरु गरें । छोराछोरी दुवै स्कुल जान थालेका थिए । उनीहरूको पढाइ खर्च जुटाउने अर्को चुनौती पनि थियो । कलम, कापी, कपडा र झोला जस्ता सामान्य कुरा जोहो गर्न पनि निकै कठिन पर्‍यो । आफू भोको बसेर पनि बच्चाका लागि जोहो गर्नैपर्ने थियो । जे होस्, अभाव नै भए पनि मुक्त भएपछि घरको काम गर्ने र आन्दोलनमा जाने स्वतन्त्रता भने प्राप्त भयो । निर्धक्कसाथ समय बचाएर आन्दोलनमा सहभागी हुन पाएँ । यो भने औधी खुसीको कुरा थियो । घरमा खानेकुरा नभएपछि बच्चाहरू दौडेर मामाघर जान्थे । आमाले भएसम्म खानेकुरा दिनुहुन्थ्यो । तर यसरी खान दिएको भनेर भाउजूचाहिँ निकै रिसाउनुहुन्थ्यो । ‘आफू नेतागिरी गरेर यताउता हिँड्ने ? खानचाहिँ बच्चालाई हाम्रो घरमा पठाउने’ भन्दै भुत्भुताउनु हुन्थ्यो । त्यसपछि आमाले आन्दोलनमा हिँड्न छाडेर घर-बच्चाको स्याहारमा लाग्न सुझाव दिनुहुन्थ्यो । तर म जसले जति आग्रह गर्दा पनि आन्दोलनमा लाग्न भने छाडिनँ । बच्चालाई गाली गरेको देख्दा आमा कहिलेकाहीँ रुनु पनि हुन्थ्यो । आन्दोलनमा लागेको भन्दै गाउँका केही विरोधी ममाथि जाइलागेको देखेर आमा निकै चिन्ता गर्नुहुन्थ्यो । ‘शान्तिकै कारणले खेत जोत्न पाएनौं’ भन्दै अन्य कमलरीका बाबा-दाइहरूसमेत मेराविरुद्ध विभिन्न योजना बनाउँथे । कतिपयले मार्नेसमेत योजना बनाएको थाहा पाएकी छु । तर म आमालाई सम्झाउँथें- ‘अभियानमा लागेर गाउँको भलो गर्छु’ भन्थें । अनि आमा रिसाउँदै भन्नुहुन्थ्यो- ‘तँलाई नै मारेपछि गर्लिस् नि अरुको भलो ? पहिले आफ्नो काम गर, परिवार जहानको ख्याल गर, अनि अरुका लागि सोच्नू ।’ उहाँको पीडा देखेर मलाई पनि चिन्ता हुन्थ्यो । आमा कहिले गाली गर्नुहुन्थ्यो त कहिलेचाहिँ साहस पनि दिनुहुन्थ्यो । आमाको मन न हो, सन्तानप्रति माया हुने नै भयो । अझ म त कान्छी छोरी । त्यसैले उहाँलाई मेरो धेरै चिन्ता थियो । उहाँ मलाई धेरै नबोल, जमिनदारविरुद्ध नलाग भनेर बारम्बार सम्झाउनुहुन्थ्यो । उहाँको डर थियो कि मलाई जमिनदारले केही गरिदेलान् । त्यसैले जमिनदार वा शोषण गर्नेहरूको विरोध गर्नुभन्दा बरु मिलेर बसिदिए राम्रो हुन्थ्यो भन्ने चाहना उहाँमा थियो । त्यतिखेरमात्र हैन, अहिले पनि उहाँ मलाई जमिनदारले केही गरिहाल्ने पो हुन् कि भन्ने पिरलो गरिरहनुहुन्छ बेलाबखत । यसबाट पनि थाहा हुन्छ कि आमा त्यतिखेरका जमिनदारबाट कति सताइनुभएको रहेछ भन्ने । उहाँमात्र हैन, उहाँका उमेरका सबै थारु महिला यस्तै सोच राख्छन् अहिले पनि । जुन प्रवृत्तिका रूपमै झाङ्गिएको छ । अभियानमा रोक्ने प्रयास र सफलता मैले भने सफलता नपाउँदासम्म आन्दोलनमा लागिरहने प्रण गरें । एक न एक दिन कसो सफलता हात नलाग्ला भन्ने लाग्थ्यो । यद्यपि कसरी सफल होइन्छ भन्नेचाहिँ मलाई पनि थाहा थिएन । तर पनि अनवरतरूपमा लागिरहें । नथाकुन्जेल लागिरहें- कहाँ पुग्छु भन्ने गन्तव्य थाहा नभए पनि । मलाई यतिमात्र थाहा थियो कि निरन्तर लागेमा एक दिन गन्तव्यमा अवश्य पुगिएला । मलाई अभियानमा लाग्नबाट रोक्नका लागि गाउँमा पटक-पटक कचहरी समेत हुन्थ्यो । अरुका चेली छोरी, श्रीमती सबैलाई अभियानमा लगाई भनेर सबैले आरोप लगाउँथे । ‘अभियानमा लगाउने भए हाम्रा पनि बच्चा स्कुल पढाउने जिम्मा लिनुपर्‍यो’ भनेर गाउँलेहरू सर्त राख्थें । आफ्नै बच्चा त पढाउन मुस्किल थियो । कहाँबाट अरुको बच्चा पढाउने जिम्मा लिन सक्नु ? गाउँका कोही मान्छेको साथ नपाउँदा कहिलेकाहीँ त मलाई चिन्ता पनि लाग्थ्यो । तर पनि म थाक्न भने थाकिनँ । यो अभियानमा मसँगै गाउँकै शरद योगीकी श्रीमती पनि लागेकी थिइन् । शरदले आफ्नी श्रीमती मसँगै हिँडेकै कारण धम्क्याउँथे । कुटपिट पनि गर्थे । यस्तो अभियानमा नलाग्न बारम्बार चेतावनी दिन्थे । म उनलाई निकै सम्झाउन कोसिस गर्थें । यो अभियान असमान भूमि वितरणविरुद्ध छ र गरिबको हितमा छ भन्थें । तर उनी मरे पत्याउँदैनथे । अनि भन्थे- कस्ता कस्ता ठूलो नेताले नसकेको काम तैंले गर्ने ? यत्तिकैमा उनले ‘बरु सक्छस् भने गाउँ -डाँडागाउँको चुक्लीपाटा, जहाँ १७-१८ घर थिए) मा बत्ती बालेर देखा त’ भनेर चुनौती दिए । नत्र गाउँका आइमाई बिगार्दै नहिँड्न चेतावनीसमेत दिए । म पनि के कम र ? आफैंलाई त बत्ती बाल्न कहाँ जाने, कसलाई भन्नेबारे केही मेसो थिएन । त्यसैले गाउँकै वसन्तपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर ओलीलाई गाउँमा बत्ती बाल्ने अभियानमा लागौं भनेर अनुरोध गरें । उनले यो सम्भव हुने काम नभएकाले प्रयास नै नगर्न पो सुझाव दिए । यसरी पहिलो प्रयासमै झड्का लागेपछि म पछि हट्नुपर्ने हो तर मेरो बानीले मलाई यो काम जसरी पनि पूरा गरेरै छाड्छु भन्ने अठोट दिलायो । त्यसपछि उनलाई कहाँ जाने, कसलाई भेट्ने, प्रक्रिया त बताइदेउ भनें । बल्ल उनले ‘हुन त हुन्न’ भन्दै प्रक्रियाचाहिँ सबै बताइदिए । उनकै सल्लाहअनुसार गाविसमा सिफारिस लिन गएँ । कहाँ गाविस ? कसलाई भन्ने ? के भन्ने ? केही थाहा थिएन । यसमा मेरी नन्द (जसलाई पछि उनकै श्रीमान्ले हत्या गरे) ले सहयोग गरिन् । उनलाई अलिअलि थाहा रहेछ । अरु बेला त गाविस पनि कहाँ जान पाइन्थ्यो र ? त्यसैले घाँस काट्न गएका बेला समय मिलाएर गाविस कार्यालय धाउने काम भयो । यो सिफारिस लिएर विद्युत् कार्यालय धाउने काम पनि जारी राखें । ६ महिनाको लामो प्रयासपछि गाउँमा विद्युत् कार्यालयले पोलसम्म खसाल्यो । पोल आएपछि अलि राहत महसुस भयो । पोल आए पनि लामो समयसम्म तार जडान भएन । तार नहालेकाले बत्ति बल्ने कुरै भएन । त्यसपछि ‘देखाउनलाई पोल खसाल्न लगाएको’ भनेर पुनः गाउँलेले मलाई उडाउन थाले । गाली गरे । गाउँमा यो वातावरण देखिएपछि अरु गाउँलेलाई पनि मसँगै हिँड भनेर पछि लगाएँ । नभन्दै साथ पनि दिए । सबैको दबाब निरन्तर जारी रहेपछि बल्ल विद्युत् कार्यालयले गाउँमा तार खसाल्यो । अनि बत्ती पनि बल्यो । त्यसपछि भने ममाथि गाउँलेको अलि विश्वास बढ्यो । गाउँलेको ममाथि विश्वास बढेको यही क्षणलाई भरपुर प्रयोग गर्दै मैले कमलरीका बाबुआमालाई आफ्ना छोरी जमिनदारको घरबाट फिर्ता गरौं भन्ने प्रस्ताव राखें । तर कोही तयार भएनन् । उनीहरूको सबैको एउटै भनाई थियो- ‘फिर्ता त ल्याउने तर पाल्ने कसरी ? आफैं पालिन त गाह्रो भएका बेला थप बोझ किन भिर्ने ? कम्तीमा ऊ आफू त पालिएकी छे ।’ हुन पनि हो, खाना अभावले आफ्नै छोराछोरी पनि बोझ लाग्ने अवस्था थियो गरिब थारुहरूको । छोरीहरूलाई कमलरी बस्न पठाउनुको एउटा कारण यो पनि थियो । यही बाध्यता बुझेका जमिनदारहरूले कमलरीको सकेसम्म शोषण गर्थे । अनि यो शोषण सहिरहनुको एउटा कारण आफ्नै गरिबी पनि थियो । जुन कुरा मैले राम्रैसँग बुझेकीमात्र हैन, भोगेकीसमेत थिएँ । उनीहरूलाई हौसला दिनका लागि फिर्ता ल्याइएका कमलरी म आफैं जिम्मा लिन्छु भनें । भन्न त भनें तर उनीहरूलाई कसरी राख्ने, के खुवाउने भन्ने प्रश्नको उत्तरचाहिँ म आफैंसँग पनि थिएन । आफैंलाई विश्वास नभएको आश्वासन दिए पनि कमलरीका आमाबाबु भने कमलरी फिर्ता गर्न सहमत भए । अर्थात् सबैले ममाथि विश्वास गरे । गाउँमा बत्ती बाल्न सफल भएपछि सबैले पत्याउने वातावरण बनेकाले ममाथि विश्वास गरेका थिए उनीहरुले । यसरी कमलरी फिर्ता गरेपछि जमिनदारले उनीहरूको परिवारलाई गरिखान दिएका जमिन पनि खोसे । एकातिर घरमा खाने परिवारको बोझ थपियो थारु समुदायमा भने अर्कोतर्फ गरिखाने जमिन पनि खोसिएकाले जीविका नै धरापमा पर्‍यो । यसरी जमिन खोस्ने जमिनदारहरूले फिर्ता भएका कमलरी र उनीहरूका आफन्तलाई ‘अब शान्तेको डाँडा जोत्न जाओ’ भनेर डायलग हान्दै पठाए । मेरो आफ्नै पनि केही नभएकाले उनीहरूले हामी बसेको डाँडो देखाउनु स्वाभाविक पनि थियो । यसरी कमलरी छुटाउने अभियान त सुरु गरियो तर उनीहरूको समस्या कसरी हल गर्ने भन्ने उपाय भने नभएकाले थप तनावमा परें म । यसैबीच कमलरीहरू फिर्ता आएपछि जमिनदारहरूको घरमा काम गर्ने मानिस भएन । वर्षौंदेखि अरुलाई जोताएर मोजमस्ती गरेकाहरू मसँग पुनः आक्रोशित भए । त्यसपछि उनीहरूले मेराविरुद्ध विभिन्नखाले षडयन्त्र रच्न थाले । यस क्रममा कमलरीका बाबुआमालाई उचाले र ममाथि जाइलाग्न लगाए । कैयौं मानिसलाई जाँड खुवाएर कुटपिट गर्नसमेत पठाए । यसरी आफैंमाथि आक्रमण हुन थालेपछि छाप्रोभित्रै चुकुल लगाएर बस्न बाध्य भएँ कति दिन त । जमिनदारको उक्साहटमा लागेर कमलरीकै आफन्त तथा अभिभावकहरू समेत मेराविरुद्ध मेरै छाप्रो अघि आएर नारा जुलुसै लगाउँथे । यस्तो अवस्था देखेपछि मलाई घरमै आफन्त र परिवारले समेत गाली गर्न थाले । हुँदाहुँदा उनीहरूको पनि आँखाको तारो हुन थालें म । तर पनि मैले हरेस खाइन । चराको पनि गुँड हुन्छ । हामी बरु गिटी कुटौं, छोरी नबेचौं भनेर सबैलाई सम्झाउन छाडिन् । कमलरीबाट छाड्न त लगाइयो, छाड्दै पनि गए । छोरी फिर्ता ल्याउने क्रम पनि बढ्यो तर उनीहरूलाई कसरी राख्ने, के खुवाउने भन्ने चिन्ताचाहिँ कम भएन । केही गरौं न त भने आफैं पनि समस्यामा थिएँ । कतै जाउँ, साहूको काम छाड्न पाइन्न । यत्तिकैमा केही उपाय त खोज्नै पर्‍यो बा भनेर एक दिन कमलरी हितमा काम गर्ने संस्था खोज्न घोराही गएँ । अघिल्लै दिन दुई भारी घाँस काटेकी थिएँ । एक भारी भोलिपल्टलाई राखेर त्यो दिन घोराहीतर्फ हानिएँ । जान त जाने तर कहाँ जाने ? कसलाई के भन्ने ? रनभुल्लमा परें । यत्तिकैमा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीलाई सम्झें । उनीहरूले नै हाम्रो गाउँमा एउटा बचत समूह गठन गर्न लगाएका थिए, जसको सदस्य म पनि थिएँ । त्यसैले उनैलाई पीडा बिसाउन पाए फिर्ता आएका कमलरीका लागि केही उपाय निस्कन्छ कि भन्ने लाग्यो । अनि उनलाई भेटें पनि । सबै कुरा बताएँ र आफू राम्रो काम गर्न खोज्दा झनै समस्यामा परेको पनि सुनाएँ । मेरो सबै कुरा सुनिसकेपछि आसमानीले एक साता उनीहरूलाई नआत्तिइ बस्न भन्नु, त्यसपछि केही गरौंला भनेर आश्वासन दिइन् । सहाराबिहीन बनेकी मलाई उनको त्यो भनाईले पनि ठूलै राहत प्रदान गर्‍यो । तर आफ्नो गास र बास छाडेर मेरै भरमा फिर्ता आएका कमलरी र उनका आफन्तलाई भने एक साता मनाउन वा टिकाउन पनि निकै गाह्रो भयो मलाई । धन्न, नभन्दै उनले एक सातापछि फिर्ता आएका कमलरीका लागि विद्यालय पोशाक, झोला र अन्य सामान ल्याइदिइन् । त्यसपछि पढ्न चाहने र रुचि भएका सबैलाई विद्यालयमा भर्ना पनि गरियो । बल्ल केही राहत महसुस हुन सक्यो । कुरा काट्ने र मान्छे भाँड्छे मात्र भन्नेलाई पनि केही जवाफ स्वत मिल्न पुग्यो । मलाई यस कार्यमा पवित्रा नेपालीले निकै सहयोग पुर्‍याइन् । उनको कहानी पनि कम्ता पीडाजनक थिएन । श्रीमान् र दुई बच्चा मरेका थिए उनका । त्यसपछि सासूले मेरो छोरो खाइस् भनेर घरबाट निकालिदिएकाले विचल्लीमा थिइन् । उनले पनि अदालतमा अंश मुद्दा हालेकी थिइन् । उनको मुद्दामा म पनि लागें । पछि उनले जितिन् । मसमेत लागेको पवित्राको मुद्दा जित्नाले पनि मैले थालेको अभियानलाई फाइदा पुग्यो । यसले गरेको काम पक्का हुन्छ भन्ने विश्वास गाउँलेमा पलायो । यसरी एकपछि अर्को सफलताले मैले थालेको अभियान क्रमशः सफल हुँदै गएको थियो । बलदेव मजगैयाको सांसद विकास कोषबाट सहयोग जुटाएर गाउँमा इनार पनि खनियो । यसबाट पनि गाउँलेको मन जित्न मलाई सहज भयो । थप मानिसमा मप्रति आशा जगाउन र केही गर्छे भन्ने पार्न सफल भएँ । स-सानै किन नहुन, यिनै सफलता थिए, जसले मलाई भूमिहीनका लागि केही गर्न तथा उनीहरुका लागि नीति निर्माण गर्ने थलो संविधान सभासम्म पुर्‍याउन ठूलो भूमिका निर्वाह गरेका थिए ।शान्ता चौधरीलाई मार्ने योजना भिडियोमा हेर्नुहोस् । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment