बैंकका स्टाफले नै यस्तो गरेपछि...

04:25 Posted by npnews

 १६ साउन  वैदेशिक रोजगार विभाग परिसरमा रहेको एभरेष्ट वैंकका कर्मचारी अवैध घुस लिँदालिँदै पक्राउ परेका छन् ।

 सम्बन्धित व्यक्ति नै उपस्थित भएर काट्नुपर्ने कल्याणकारी राजस्व एजेन्ट सुवास मैनालीमार्फत घुस लिएर काट्न लागेको अवस्थामा व्यवसायी प्रतिनिधि शेखर ढकालले घुस र पासपोर्टसहित रङ्गेहात पक्राउ गरी विभागसमक्ष बुझाएका छन् । बैंक प्रतिनिधि दीपक भारतीका अनुसार सुवास मैनालीले २१ वटा पासपोर्ट र २३ हजार रकम रबरले बाँधेर राजस्व काट्न दिएको विभागसमक्ष बयान दिएका छन् ।
पटक पटक प्रश्न गर्दा सुवास दाईले रकम र पासपोर्ट दिएको भारतीले उल्लेख गरेका छन् । सुवास व्यक्तिगत पासपोर्ट संकलन गरेर श्रमस्वीकृति निकाल्ने एजेन्ट भएको भारतीले उल्लेख गरेका छन् । विभाग परिसरमा कल्याणकारी राजस्व लिन अनुमती प्राप्त एभरेष्ट बैंक शाखाका म्यानेजर सरोज श्रेष्ठकै निर्देशनमा अवैध धन्दा फैलिँदै आएको छ । राजाराम र बेन्जु व्यक्तिगत भौचर काट्ने, दीपक भारती संस्थागत (म्यानपावर)को भौचर काट्ने भए पनि अवस्था हेरेर वैंक कर्मचारीले आलोपालो अवैध रकम लिएर राजस्व लिँदै आएका छन् ।
आफु निकट र मोटो रकम बुझाउनेलाई मात्र वैंकले निशुल्क प्राप्त हुने भौचर, रसिद प्रति भौचर २ सयदेखि १५ सयसम्म लिएर एजेन्टलाई दिँदै आएको छ । श्रमस्वीकृतिको लागि कल्याणकारी राजस्व पहिलो प्राथमिकतामा छ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जानेहरुका लागि सम्बन्धित व्यक्ति स्वयं लाईनमा बसेर राजस्व बुझाउनु पर्ने नियम विभागले डेढ वर्ष अगाडिबाट लागु गरे पनि यो पूर्ण रुपले लागु हुन सकेको छैन् ।
वैंक कर्मचारीले घूष आउने भएमात्रै राजस्वका ठेली बाहिराउने गर्दछन् । जुन निशुल्क वितरण गर्नुपर्ने हो । वैंकले संस्थागत भौचर पहेंलो र व्यक्तिगत भौचर सेतो गरी दुई थरी लागु गरेको छ । अवैध पासपोर्ट र रकम सहित पक्राउ परेका एभरेष्ट वैंक कर्मचारी दीपक भारतीलाई कस्तो कार्वाही हुने हो त्यो भने हेर्न बाँकी छ । श्रोतले दिएको जानकारी अनुसार वैंक म्यानेजर सरोज श्रेष्ठकै योजनामा अवैध धन्दा हुँदै आएको छ । होटल,गेष्टहाउस,ट्राभल्स र मानव तस्करीमा लागेका अनेकौं छद्म पेशाधारीको समुहले सर्वसाधारण नागरिकलाई विभाग परिसरमा ल्याएर छाडेपछि लाईन बस्न,राजस्व काट्न, विमा गर्ने लगायतका काम सिकाउने र मोटो रकम आँफुहरुले असुल्दै आएका छन् ।
व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा हिँडेका महिला पुरुष जो सुकैलाई कति खर्च लाग्यो भनेर सोध्नुस जवाफ आउँछ ‘दाई’ले मिलाउनु भएको छ । ‘दाईले तिर्नु भएको छ’ यही उत्तर आउने गरेको छ । ‘दाई’ भनेको अवैध धन्दा गर्ने एजेन्ट,मानव तस्कर । जेनटहरुले सोझा सर्वसाधारणलाई गीता पाठ गराउँदा झै पढाएरै विभाग पठाएका हुन्छन् । जस्का कारण उनीहरुले ‘दाई’को भन्दा अरु कसैको विश्वासै मान्दैनन् तर ‘दाई’ले कति ठगेको छ भन्ने कुरा उनीहरुलाई थाहै हुँदैन ।
परिचयपत्र वा पासपोट नभएका व्यक्तिहरुलाई विभागले गेट बाहिरैबाट फर्काउने गरेका कारण मानव तस्करीमा लागेकाहरुले विभाग परिसर बाहिर बसेर सेटिङ मिलाउने गर्दछन र श्रमस्वीकृति निस्किएपछि आँफुसँगै लिएर जाने गरेका छन् । पुराना एजेन्टहरुलाई सबैले चिन्न थालेपति अहिले विभाग परिसरमा नयाँ नयाँ एजेन्टहरुको हालीमुहाली बढेको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment