छोरी भनेर छोराको भ्रुण हत्या

09:12 Posted by npnews

-->
जनकपुर - छोराको बाटो हेर्दाहेर्दै चारवटा छोरी जन्माइसकेकी महोत्तरी सहोडबा–४ की चन्द्रादेवी झाले पाँचौ सन्तानको रुपमा पाएको छोरा पनि जन्माउन नपाउँदै गुमाउनु परेको छ। छोरी नै छोरी जन्मिन थालेपछि भ्रुणको लिङ पहिचान गराउन डाक्टरकहाँ गएकी उनलाई अर्को सन्तान पनि छोरी नै रहेको भनियो। गर्भ बोकेको पाँच महिना पुगिसके पनि छोरीको नाउँ सुन्ने बित्तिकै फाल्न तयार भएकी उनको गर्भपतन गरेपछि मात्र थाहा भयो– पेटमा हुर्कंदै गरेकेा छोरा रहेछ। तर, गर्भपतन भइसकेपछि थाहा पाएर के गर्न सकिन्थ्यो र! पीडित परिवारले डाक्टरमाथि आक्रोश पोखे। डाक्टरले पनि आफ्नो बुताले भ्याएसम्म आर्थिक प्रलोभन र दबाबमा घटना लुकाउन खोजे।
घटना गत मंगलबारको हो। झाले डा. निलम चौधरीको जनकपुर प्रसूति क्लिनिकमा गएर भ्रुणको लिङ्ग पहिचान गराइन्। अल्ट्रासाउन्डको माध्यमले भ्रुण पहिचान गरिसकेपछि डा.चौधरीले ‘फिमेल' भन्ने मौखिक रिपोर्ट सुनाइन्। झाले अझ स्पष्ट हुन केही दिनपछि पुनः एक पटक जाँच गराउने भन्दै फिर्ता भइन्। अर्को चोटी जाँच गर्दा पनि चौधरीले उस्तै रिजल्ट सुनाइन्। कानुन विपरित हुने गरी गर्भ बोकेको म्याद नाघिसकेका महिलालाई गर्भपतन गर्न कम्तीमा पाँच हजार ‘रेट' तोकिएको रहेछ – चौधरीको क्लिनिकमा। कुनै कुनै केसमा भने १० देखि २५ हजारसम्म पनि लिने गरेको क्लिनिककी एक स्टाफनर्सले बताइन्। 
झाले पाँच हजार तिरेर भएपनि अवैध गर्भपतन गराउन तयार भइन्। मध्यरातीमा बेहोस पार्ने औषधी प्रयोग गरेर चौधरीले पाँच महिनाको भ्रुण शिशु त बाहिर निकालिन्। तर, तिनले भने झैं भु्रण फिमेल नभएर मेल अर्थात छोरा रहेछ। कुनै पनि महिलालाई गर्भपतन गरेपछि उनको पेटबाट निकालिएको बच्चा उनकै परिवारलाई जिम्मा लगाउनुपर्ने नियम अनुसार कलिला शिशुको शरिर आमालाई देखाउनै पर्ने भयो। हतार–हतार डाक्टरले उसको लिङ्ग काटिदिएर छोरीको जस्तो बनाउने दुष्प्रयास गरिन्। तर, उनको आफन्तले कुरो समातिहाले। रातिमै ‘बबाल' भयो। डाक्टर पनि डराएकी थिइन्। उनले अनेकन प्रलोभन देखाएर पीडित परिवारलाई घटना गुपचुप राख्न प्रयास गरिन् तर सकिनन्। 
बिहान नहुँदै चन्दाकी सासु चन्द्रकलाले न्यायको लागि आफन्तहरुलाई गुहारिन्। पीडितको आवाज बुलन्द हुने संकेत देखेपछि तत्काल चौधरीले डेढ लाख रुपैयाँ उपलब्ध गराउने वाचा गर्दै घटनाको प्रचारवाजी नगर्न आग्रह गरिन्। एक लाख रुपैयाँ नगदै हातमा थमाइदिएपछि पीडित परिवारले पनि चित्त बुझायो। पीडितले यस वारे बाहिर कतै नबोले थप पचास हजार रुपैया दिने लोभ देखाइएको थियो। तर, केही सञ्चारमाध्यमसम्म कुरो पुगेपछि उक्त पचास हजार पनि नदिने बरु उल्टो दण्डित गर्ने धम्की दिन थालेको बुझिएको छ। 
जानकी प्रहरी चौकीसँग टाँसिएरै रहेको क्लिनिकमा भएको उक्त घटना वारे प्रहरीले अनभिज्ञताको नाटक रचिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी नरेन्द्र उप्रेतीले घटनाको तीन दिन बितिरहँदासम्म कतैबाट उजुरी आइनसकेको बताउँछन्। ‘घटना यदि कानुन विपरित हो भने कारवाहीको लागि उजुरी नै पर्खिनुपर्ने कस्तो बाध्यता छ?' नागरिकको जिज्ञासामा उप्रेतीले भने, ‘अहिलोसम्म उजुरीको लागि पर्खेका थियौं, अब केही सञ्चारमाध्यममा पनि आइसकेकाले आवश्यक प्रक्रियावारे थप अध्ययन गर्दै छौं।'

-->
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment