हेलीकोप्टर चढेर सर्वोच्चका ‘जोगी’ बाबाधाम !

02:09 Posted by npnews

२८ वैशाख, काठमाडौं । जंगल छेउमा सेतै फुलेका वृद्ध दौरासुरुवालमा सजिएर नांगो डाँडामा मुस्किलले उकालो चढिरहेका छन् । सेतो जुत्ता टल्काएका तालुखुइले भद्र भलाद्मी पनि पछिपछि छन् । झोला भिरेका एक युवाले दाह्रीवालतर्फ चोर औंलो देखाइरहेका छन् । पछाडिपट्टि प्रहरी अधिकारी र सेनाको टुकडीसमेत छ । दृश्य हेर्दा लाग्छ, यिनी कुनै राजा, महाराजा नै हुन् । तथापि यो भिआइपी सवारी न कुनै राजाको हो, न राज्यको कुनै प्रशासनिक काममा खटिएको टोली नै।दुईसाता अघि कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश रामकुमारप्रसाद साह स्वामी खप्तड बाबाको आश्रम जाँदाको दृश्य हो यो । झोला बोकेर बाटो देखाउने व्यक्तिचाँहि सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल हुन् । राज्यको पहुँचमा हेलीकोप्टर चढेर खप्तड पुगेको दुई न्यायाधीशसहितको यो टोली त्यहाँ कुनै न्याय निसाफ गर्न गएको होइन । कामु प्रधानन्यायाधीश शर्माको नेतृत्वमा तीर्थ ब्रतमा निस्किएको टोलीले नेपाली सेनाको हेलीकोप्टर प्रयोग गरेको थियो । विगतमा पूर्वराजा ज्ञानेन्द्रले पनि यसैगरी मन्दिर डुल्न जाँदा सेनाको हेलिकोप्टर प्रयोग गर्थे ।
लोकमानको भर छ, शर्मालाई केको डर छ ?
कायम मुकायम प्रधानन्यायाधीश शर्मा तिनै व्यक्ति हुनुहुन्छ, जसले केही दिनअघिमात्रै लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सपथ खुवाउनुभएको छ । सपथपछि आरुबारीस्थित आफ्नो ‘कुटी’मा शर्माले लोकमानलाई भव्य भोजसमेत खुवाउनुभएको समाचार केही पत्रिकाले छापेका छन्, जसको अदालतले अहिलेसम्म खण्डन गरेको छैन । सेनाको हेलीकोप्टर चढेर तीर्थब्रत गरेको खर्चको स्रोतबारे अहिलेसम्म कसैले चर्चा गरेको छैन । आफैंले सपथ र भोज खुवाएको अख्तियारले शर्माको खर्चबर्च खोज्ने पनि कुरो भएन ।पहिले क्षेत्रपाटी घर भई हाल आरुबारीमा बस्दै आउनुभएका लामिछाने थरका कामु प्रधानन्यायधीश शर्मा बालब्रह्मचारी हुनुहुन्छ । नाताले भतिज पर्ने एक अधिवक्तालाई धर्मपुत्रका रुपमा राख्नुभएका शर्मा ब्रह्मचारीमात्रै नभएर सच्चा योगीसमेत हुनुहुन्छ ।
आफ्नो निवासमा देश विदेशका हिन्दू गुरुहरुको भिडभाड हुने गरेको र आफै पनि सन्त भएकाले शर्माले तीर्थब्रतमा ननिस्किने कुरै भएन ।यसअघि बाराको इनर्बाशिरा वनदेवी मन्दिरमा त झनै कामु प्रन्या शर्माको रुद्राक्षको माला लगाएको अर्धनग्न स्वरुपै देख्न पाइएको थियो ।
जोगीले चलाएको अदालत कस्तो होला ?
कार्यालय समयमा दाह्री कोरेर अदालत जाने अनि अरुसमय धार्मिक काममा खर्च गर्ने शर्माका लागि अदालतमा निकै ठूला चुनौतिहरु छन् । खिलराज रेग्मीले सरकारको नेतृत्व लिने सहमति गर्नासाथ भक्तपुरमा भाषण गर्नेक्रममा अदालतको स्वतन्त्रता जोगाउने खरो भाषण गर्नुहुने शर्माप्रति नेपाल बार एसोसिएसन र पत्रकारहरु त्यति विश्वस्त हुन छाडिसकेका छन् । कानून दिवसमा सर्वोच्चले खेलेको भूमिका र पत्रकारलाई अदालतमा छिर्न रोक लगाइएको विषयले बार र पत्रकार रुष्ट छन् । अझ पछिल्लो समयमा लोकमानलाई आरुबारीमा रात्रीभोज खुवाएको घटनाले शर्मा नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ । यसमा पनि पूर्वराजाले जस्तो हेलिकोप्टर चढेर न्यायाधीशहरु मन्दिर डुल्न थालेपछि अब सर्वोच्च अदालतले मुलुकलाई सुसासन देला भनेर कसरी पत्याउने ?अनलाइनखबर 

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment